जनकपुरधाम, फागुन १९ । आज ग्रस्तोदय चन्द्रग्रहण लाग्ने भएको छ । नेपालबाट मंगलवार साँझ खण्डग्रास चन्द्रग्रहण देखिने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा यस ग्रहणको दृश्यता उत्तर अमेरिकाको पश्चिम भाग, प्रशान्त महासागर, एशिया र अस्ट्रेलियाको पूर्वी भागमा पनि रहनेछ।
नेपाली समयअनुसार ग्रहण साँझ १५:३४ बजे सुरु हुने भए पनि काठमाडौंमा चन्द्रमा उदाउने समय १८:०३ भन्दा पहिले नै मध्य र उन्मीलन भइसकेको हुने भएकाले काठमाडौंबाट खण्डग्रास चन्द्रग्रहण मात्र देखिनेछ। मोक्ष समय १९:०२ बजे हुने भएकाले करिब एक घण्टा मात्र ग्रहण अवलोकन गर्न सकिनेछ।
चन्द्रग्रहण तब हुन्छ जब पृथ्वीको छाया चन्द्रमामा पर्दछ। यदि चन्द्रमाको पूरै भाग छायामा पर्छ भने पूर्ण खग्रास चन्द्रग्रहण र केही भाग मात्र छायामा पर्छ भने खण्डग्रास चन्द्रग्रहण देखिन्छ। चन्द्रग्रहण वर्षमा प्रायः दुईपटक मात्र लाग्छ।
यो ग्रहण खुला आँखाले हेर्न सकिन्छ, सूर्यग्रहण जस्तो जोखिम छैन। तर ज्योतिषशास्त्रअनुसार, सिंह राशिका पूर्वफाल्गुनी नक्षत्रका व्यक्तिहरूमा प्रतिकूल प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।
ग्रहणकालीन प्रभाव (राशिफल अनुसार)
मेष – चिन्ता
वृष – व्यथा
मिथुन – श्रीप्राप्ति
कर्कट – क्षति
सिंह – घात
कन्या – खर्च
तुला – लाभ
वृश्चिक – सुख
धनु – मानहानि
मकर – कष्ट
कुम्भ – दाम्पत्यमा बाधारपीडा
मीन – सुख
शास्त्रअनुसार ग्रहण सुरु हुनु भन्दा ९ घण्टा अघिदेखि सूतक लागू हुने भएकाले अशक्त, वृद्ध वा रोगी बाहेक अरूले भोजन, शयन, खेलकुद, हास्यविनोद, शृंगार, मूर्तिस्पर्श जस्ता काम नगर्नु लाभदायक हुन्छ।
ग्रहणको समयमा स्नान, तर्पण, श्राद्ध, जप, होम, भजन–कीर्तन, अनुष्ठान, दान, मन्त्रसिद्धि, तन्त्रविद्या जस्ता आध्यात्मिक कार्यहरू गर्नु विशेष फाइदाजनक मानिन्छ।
काठमाडौंबाट देखिने खण्डग्रास चन्द्रग्रहण हेर्ने अवसर धार्मिक तथा वैज्ञानिक दृष्टिले दुवै महत्त्वपूर्ण छ।






