सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकले १ अर्ब ५४ करोडको बजेट पारित



काठमाडौं, असार ३१ ।  सुदूरपश्चिम विश्वविद्यालयको १३औँ साधारण सभा सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकले आगामी आर्थिक वर्षका लागि कुल रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ। बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सभामा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकले आगामी वर्षका कार्यक्रम तथा बजेट प्रस्ताव पेश गरेका थिए। प्रस्तावित बजेटमा केही संशोधनसहित सभाले त्यसलाई पारित गरेको हो।

कुलपति ओलीले बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयको आर्थिक अनुशासन सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले बजेट प्रस्तुत गर्दा यथार्थ र आवश्यकताका आधारमा योजना तयार पार्न निर्देशन दिए। ‘योजनाहरू व्यवहारिक हुनुपर्छ, कागजमै सीमित हुने हैन,’ ओलीले भने, ‘आर्थिक थितिलाई सन्तुलनमा राख्न ध्यान दिनुपर्छ।’

बैठकमा विश्वविद्यालयका शिक्षणस्तर, भौतिक पूर्वाधार, अनुसन्धान तथा मानव संशाधन विकासलगायतका विषयमा समेत छलफल भएको थियो।

यही बैठकले शैक्षिक, प्रशासनिक सुधार र विस्तार सम्बन्धी रणनीतिहरू पनि तय गरेको छ। प्रदेशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको विश्वविद्यालयलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित बजेट तयार गरिएको जनाइएको छ।

बैठकमा सहभागी पदाधिकारीहरूले सुदूरपश्चिम विश्वविद्यालयले दूरदराजका विद्यार्थीहरूको पहुँचमा उच्च शिक्षा पुर्‍याउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षातर्फ अझ बढी ध्यान दिन सुझाव दिएका थिए।

साथै, बैठकमा शैक्षिक अनुसन्धान प्रवर्द्धन, छात्रवृत्ति कार्यक्रमको विस्तार, नयाँ संकायको स्थापनालगायत विषयहरूमा पनि प्राथमिकता दिइने उल्लेख गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको यो बजेटले भौतिक पूर्वाधार निर्माण, प्रविधि सुदृढीकरण, जनशक्ति विकास, र शैक्षिक गुणस्तर सुधारतर्फ केन्द्रित योजना समावेश गरेको छ।

यस वर्षको बजेट स्वीकृतिसँगै विश्वविद्यालयले आफ्ना आगामी कार्ययोजना यथाशीघ्र कार्यान्वयनमा लैजाने बताइएको छ।

प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको