प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा सभामुख घिमिरे विश्वस्त



विराटनगर, मंसिर ९ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा विश्वास व्यक्त गरेका छन्। मंगलबार उनी कोशी प्रदेशसभाको भवन र निर्माणाधीन संरचना निरीक्षण गर्न विराटनगर पुगेका थिए।

घिमिरेले भने, “न्यायालयमा मुद्दा लागिसकेको छ, हामी आशावादी छौं। न्याय ठीक ढंगले हुँदा संसद् पुनर्स्थापना हुने छ।” उनले थपे, “हाम्रो संविधानले यसरी विघटन गर्न दिँदैन। संविधानसम्मत संसद् भंग गर्ने ठाउँ छैन र संसदबाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने पनि छैन।”

प्रतिनिधिसभा २७ भदौमा जेन–जी आन्दोलनपछि विघटन गरिएको थियो। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी निर्वाचन मिति तोकेका छन्। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ मा तय गरिएको छ।

सभामुख घिमिरे अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पनि दिएका छन्। उनका अनुसार, “राष्ट्रपतिले गरेको अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन निर्णय कानुनी रूपमा वैध छैन। संविधानको अपव्याख्या गर्दै राजनीतिक दृष्टिले गरिएको यो कार्य लोकतान्त्रिक संरचनाको हनन हो।”

घिमिरेले मंगलबार कोशी प्रदेश पुगेर बन्दै गरेको प्रदेशसभा र सचिवालयको निरीक्षण समेत गरेका थिए। उनीसँग प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट र सचिव सुदर्शन खड्काले भवन निरीक्षण गराएका थिए।

जेन–जी आन्दोलनको क्रममा कोशी प्रदेशसभा भवन जलेको थियो। भवनको संरचना नष्ट भएपछि सचिवालय कटहरी गाउँपालिका १, तरकारी बजारमा सारिएको थियो। निरीक्षणपछि सभामुख घिमिरेले प्रतिनिधिसभा संसद पुनर्स्थापना हुनेमा आफ्नो विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ मंसिर ९, मंगलवार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको