श्याम कुमार ठाकुर
सिरहा, मंसिर १५ । फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा २३ हजार ७५८ नयाँ मतदाता दर्ता भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रत्यक्ष कार्यालयमार्फत ९,३४३ जनाले दर्ता गराएका छन्, जसमा ४,२३१ महिला र ५,११२ पुरुष रहेका छन्। यस्तै १८ वर्ष पूरा गरेका १४,४१५ नागरिकहरूले अनलाइन प्रणालीमार्फत दर्ता प्रक्रिया पूरा गरेका छन्।
हालसम्म सिरहा जिल्लामा कुल ४,३१,६०६ मतदाता दर्ता भइसकेको कार्यालयले जानकारी दिएको छ। निर्वाचन तयारीलाई सहज, पारदर्शी र सबै नागरिकका लागि पहुँचयोग्य बनाउन जिल्ला प्रशासन, स्थानीय तह र सामाजिक संस्थाहरू सक्रिय रहेका छन्।
निर्वाचन कार्यालयले सबै योग्य नागरिकलाई मतदाता दर्ता गर्न र निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।






