जनकपुरधाम, मंसिर २८ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर लाल किशोर साहले जसपा नेपाल पूर्ण रुपमा मधेशवादमा आधारित सामाजवादी पार्टी रहेको बताएका छन् ।
जनकपुरधाम उप–महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्वोधन गर्दै उनले पार्टी प्रति वफादार भई आगामी दिनमा कार्यगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । जसपा नेपाल विचार बोकेका पार्टी रहेका कारणले विचार भन्दा बाहिर नजान उनले आग्रह गरेका थिए । जसपा नेपाल अधिकार प्राप्तिकालागि आन्दोलन र बलिदान गरेको स्मरण गराउँदै उनले विभेद विरुद्ध खरो उत्रन उनले निर्देशन समेत दिए ।
उनले भने–‘पार्टीले मधेशी जनताकोलागि लडेको लडाई अहिले पनि अन्त्य नभएको भन्दै षडयन्त्रकारीहरु अहिले पनि सक्रिय रहेकाले पार्टी विरुद्ध हुने षडयन्त्रलाई चिर्नुपर्दछ । जनतामा पार्टी विरुद्ध फैलाइएको द्वेश चिर्नुपर्छ ।’ केही मधेशवाद विरुद्धका पार्टीहरु जसपा नेपालको बारेमा अन्र्गल प्रचारबाजी गरिरहेको उनको भनाई थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मेयर साहले विभेद विरुद्धको लडाइ जारी राख्दै जनतामा अधिकार दिलाउने आफूहरुको लक्ष्य रहेको र तीन तहको सरकारमा पुगेर जनताकोलागि काम गर्ने लक्ष्य हुनुपर्ने बताएका थिए ।






