काठमाडौं , पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ । गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा रहेको छ ।
तमु ल्होसार सूर्यको गति र किरणसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडै पुग्ने विश्वासका कारण पुस महिनामा यो पर्व मनाइने गरिएको जानकारहरू बताउँछन् । त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेको क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाउने परम्परा रहेको छ ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष सांस्कृतिक र प्राकृतिक महत्व रहेको बताइन्छ । पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
तमु ल्होसारको अवसरमा राजधानी काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ । कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक भेषभूषामा सजिएर सहभागी भएका छन् ।
महोत्सवमा गुरुङ समुदायका मौलिक नृत्य, गीत, सांस्कृतिक झाँकी तथा परम्परागत परिकारहरूको प्रदर्शनी गरिएको छ । यसले गुरुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
तमु ल्होसार पर्वले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक विविधतालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।






