जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक



सर्लाही, पुस २३। हरिवन नगरपालिका–१ लिचीटोलका विवेक परियार १७ वर्षका भए। उमेरले किशोर भए पनि जिम्मेवारीले उनी परिवारका एक्ला अभिभावक बनेका छन्। बिहानदेखि रातिसम्म ज्याला मजदुरी गरेर ७५ वर्षीया जिजुहजुरआमा अतिरुपा, ६० वर्षीया हजुरआमा फूलमाया र १५ वर्षीया बहिनी बिविका को भरणपोषण गर्नु उनको दैनिकी हो।

चार वर्षकै उमेरमा आमाले छाडेर गएपछि विवेक दाजुबहिनीसहित टुहुरो बने। मामाघरतर्फको हजुरआमाको संरक्षणमा हुर्किएका उनले गाउँ नजिकैको आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरे। तर जन्मदर्ता नहुँदा विद्यालय भर्ना रोकिएपछि पढाइ छाड्न बाध्य भए।

चुरे क्षेत्रको काखमा करिब १० धुर ऐलानी जग्गा ओगटेर बसिरहेको परिवारसँग टिनको सानो छाप्रोबाहेक अरू कुनै सम्पत्ति छैन। बाल्यकालदेखि नै संघर्षमा हुर्किएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे। अहिले उनी कुशल ट्र्याक्टर चालक बनिसकेका छन्। तर कागजात नहुँदा लाइसेन्स बनाउन नपाएर सीप प्रयोगविहीन बनेको उनी बताउँछन्।

“धेरै दुःख गरेर सीप सिकेको थिएँ। लाइसेन्स बनाउन पाए यही काम गरेर परिवार पाल्थेँ,” विवेक भन्छन्, “तर कागजात नहुँदा सपना अधुरो हुने भयो।”

विवेकका जिजुहजुरआमा अतिरुपाका अनुसार विवेककी आमाले सानैमा छाडेर गइन् र बुबाको पनि अत्तोपत्तो छैन।

“एक पटक ज्वाइँ आएका थिए, तर उहाँकै पनि कागजात बनेको रहेनछ,” उनले भनिन्, “त्यसपछि फेरि हराउनुभयो।”

हजुरआमा फूलमाया जन्मजातै बोल्न नसक्ने फरक क्षमताकी छन्। जिजुहजुरआमा वृद्ध भइसकेकी छन्। यस्तो अवस्थामा बहिनीको भविष्यको चिन्ताले विवेकलाई सधैं सताइरहन्छ। ज्याला मजदुरी गरेर भए पनि बहिनीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना छ।

विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौना स्थित पटौना आधारभूत विद्यालय मा पढाइरहेका छन्। कक्षा ७ मा अध्ययनरत बिविकालाई आगामी वर्ष कक्षा ८ मा भर्ना गर्न जन्मदर्ता अनिवार्य गरिएको विद्यालयले जनाएको छ। तर जन्मदर्ता कसरी बनाउने भन्ने थाहा नहुँदा बहिनीले पनि पढाइ छाड्नुपर्ने हो कि भन्ने डर विवेकलाई छ।

एक पटक स्थानीयको सल्लाहमा वडा कार्यालय पुगे पनि कुनै प्रमाण नदेखिएपछि जन्मदर्ता नबनी फर्किनुपरेको विवेकको गुनासो छ। आफू र बहिनीको जन्मदर्ता मात्र बने पनि जीवन अलपत्र नहुने उनको भनाइ छ। त्यसका लागि उनले सरोकारवाला निकायसँग सहयोगको आग्रह गरेका छन्।

यता, परिवार बसिरहेको बाँससमेत जीर्ण भएर ढलेपछि उनीहरू अहिले टाउको लुकाउने ठाउँविहीन बनेका छन्। छिमेकीको घरमा शरण लिएर बस्नुपरेको विवेक बताउँछन्। पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि सानो घर बनाउने सपना भए पनि कागजात नहुँदा ऋण पाउने आशा छैन।

स्थानीय सुवास श्रेष्ठ का अनुसार विवेक निकै इमानदार र मेहनती छन्।
“पढाइ गर्न नपाए पनि ट्र्याक्टर चलाउन सिकेर जीविकाको आधार बनाएका छन्,” उनले भने, “तर कानुनी जटिलताका कारण जन्मदर्ता नबन्दा उनको मात्र होइन, भावी पुस्ताको भविष्यसमेत अन्योलमा देखिन्छ।”

यस विषयमा वडाध्यक्ष टमबहादुर घिसिङ ले कानुनी दायराभित्र रहेर समस्या समाधानका लागि पहल भइरहेको बताए।
“नाबालकको जन्मदर्ता सम्बन्धी विषयमा वडासचिवसँग निरन्तर छलफल भइरहेको छ,” उनले भने, “कानुनले दिएको सीमाभित्र रहेर आवश्यक कागजात बनाउने प्रयास गरिरहेका छौं।”

प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको