श्याम कुमार ठाकुर
सिरहा, पुस २८। पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ नेपाली सेनाले विद्यार्थीको सहभागितामा विशेष कार्यक्रम गरि मनाएको छ।
नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र एकताको सन्देशका साथै नेपाली सेनामा भर्ना छनोट प्रक्रियासम्बन्धी जानकारी, सेनाका गतिविधि झल्काउने फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
कार्यक्रममा सप्तरी जिल्लाबाट आएको श्री बरख गणद्वारा नेपाली सेनाका विविध गतिविधि समेटिएको फोटो प्रदर्शनी प्रस्तुत गरिएको थियो भने चोहर्वा व्यारेकमा तैनाथ श्री नन्दाबक्स गणले सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।
यस अवसरमा सिरहा जिल्लाका विभिन्न विद्यालयबाट करिब १५० जना छात्र–छात्राको सहभागिता रहेको थियो। कार्यक्रम पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणमा रहेको ऐतिहासिक योगदानको स्मरण तथा युवा पुस्तामा देशप्रेमको भावना विकास गर्ने उद्देश्यमा केन्द्रित रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री नं। २७ वाहिनीपति सहायक रथी नारायण बहादुर थापाले राष्ट्रनिर्माताको स्मरण गर्दै बालबालिकामा सानैदेखि देशप्रेम र राष्ट्रिय चेतनाको विकास आवश्यक रहेको बताए ।
उनले इतिहासको ज्ञानले देशप्रतिको दायित्वबोध बढाउने उल्लेख गर्दै नेपाली सेनाले विद्यालयहरूसँग सहकार्य गर्दै देशभर यस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा “राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट ठहरिनु भएका श्री स्वस्तिक पाठशालाका छात्र तेजस सहिलाई ब्रिगेड मोमेन्टो प्रदान गरिएको थियो।






