सप्तरी, पुस २८ । हृदयरोग विरुद्ध सर्वसाधारणलाई जागरुक बनाउने उदेश्यले गठित नेपाल हृदयरोग निवारण प्रतिष्ठान सप्तरीको अध्यक्षमा पुनः अरुण प्रधान चुनिएका छन् ।
प्रतिष्ठानको आईतवार सम्पन्न तेश्रो जिल्ला सम्मेलन तथा १०औं वार्षिक साधारण सभाले प्रधानको नेतृत्वमा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । प्रधान यसअघि पनि प्रतिष्ठानका अध्यक्ष थिए ।
प्रतिष्ठानको उपाध्यक्षमा अनिता देवकोटा, सचिव भोगेन्द्र मिश्र, सहसचिव अमृत संचेती, कोषाध्यक्षमा नानी मैया कटुवाल, सह कोषाध्यक्षमा निर्मल मुन्धडा चयन भएका छन् । यस्तै सदस्यहरुमा मिलन सिंह, पंकज पोखरेल, सुरेस सिंह, परमानन्द राउत र शुशिल कावरा चयन भएका छन् ।
समितिको सल्लाहकारमा उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवाल छानिएका छन् । रिक्त रहेको थप एक सल्लाहकार र २ जना सदस्यको आगामी माघ ४ गते बस्ने कार्य समिति बैठकले मनोनित गर्ने प्रतिष्ठानले जनाएको छ । नयाँ कार्य समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
यसअघि गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका प्रमुख अतिथि प्रष्ठिानका मधेश प्रदेश सदस्य एवम् बारा जिल्ला अध्यक्ष रामकुमार उप्रेतीले मुलुकमा अहिले मुटु रोगीको संख्या निरन्तर बढी रहेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण र निवारणका लागि प्रतिष्ठानले विभिन्न सचेतना र शिविर लगायतका कार्यक्रम गरी उपचारसँगै सर्वसाधारणलाई जागरुक बनाउनुपर्ने आवश्यकता औल्याए ।
उनले हृदयरोगबाट जोगिन तथा मुटु स्वस्थ राख्न मादक पदार्थ, तम्बाकु, धु्रमपान लगायतका कुलतबाट टाढा रहन समेत सबैसँग आग्रह गरे ।
उनले केही दिनपछि नै राजविराजमा प्रतिष्ठानको पहलमा मुटु रोग विशेषज्ञ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ शिविरको आयोजना गरिने जानकारी समेत दिए ।
“मुटुलाई धडकिन दिऊ” नाराका साथ आयोजित कार्यक्रममा प्रतिष्ठानका सप्तरी अध्यक्ष प्रधान, कानून व्यवसायी सुरेश सिंह, उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, महासचिव अमृत संचेती, व्यवसायी भोगेन्द्र मिश्र लगायतले पनि मुटु रोग नियन्त्रणका लागि गरिनु पर्ने प्रयासहरुबारे आ आफ्नो धारणा व्यक्त गरेका थिए ।






