सप्तरी, पुस २९ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी सहित आन्दोलित भएका छन् ।
स्वास्थ्य चौकीहरुमा औषधीको अभाव, कर्मचारीहरुको स्तरवृद्धि कार्यमा मनोमानी तथा केही दिन अघि गरिएको सामुहिक सरुवा लगायतका विषय उठान गरी उनीहरु आन्दोलित भएका हुन् । यसैक्रममा मंगलबार पालिकाका सबै १० वटै स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुले संयुक्त रुपमा पालिका प्रमुखलाई दुई दिनको अल्टिमेटम सहित विभिन्न माग राखी ज्ञापनपत्र बुझाएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय मंडललाइै सबै १० वटै स्वास्थ्य चौकीका प्रमुखहरुको हस्ताक्षर सहित बुझाइएको ज्ञापनपत्रमा आफुहरुले उठाएका माग दुई दिन भित्र सम्बोधन नगरिए तेश्रोदिन देखि आन्दोलनका सशक्त कार्यक्रम घोषणा गरी अघि बढने चेतावनी दिएको छ ।
स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुद्वारा बुझाइएको ज्ञापनपत्रमा चुनावको मुखमा दुःख दिने मनसायले पुस २१ गते एकैपटक सबै स्वास्थ्य चौकीका प्रमुखहरुको गरिएको सरुवा बदर गरिनुपर्ने, स्वास्थ्य चौकीहरुमा आवश्यक औषधीहरु तत्काल उपलब्ध गराउनुपर्ने तथा कर्मचारीको स्तरवृद्धि र मुल्यांकनमा गरिएको विभेद सच्याउनुपर्ने प्रमुख माग अघि सारिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत विजय मंडलले कानुन र विधि प्रक्रिया पुरा गरी सरुवा गरिएको दावी गरेका छन् ।
यता स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकीहरुमा औषधीको चरम अभावका हुँदा सेवाग्राहीबाट अपमान र मानसिक तनाव खेप्नु परेको, स्वास्थ्य चौकी बन्द गर्ने अवस्था आएको तथा एकै पटक सबै स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीको सरुवा गरेर मनोवल गिराउने र दुःख दिने काम भएको भन्दै माघ २ गते देखि आन्दोलन चर्काउने जनाएका छन् ।






