ओम प्रकाश यादव
रौतहट, माघ ११ । नेपाली कांग्रेसका नेता रामेश्वर प्रसाद यादवले पार्टी परित्यागको घोषणा गरेका छन्। रौतहट क्षेत्र नं १ बाट आफ्नो नाम टिकटका लागि सिफारिस भए पनि पार्टीले सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झालाई टिकट दिएको भन्दै यादव पार्टी निर्णयप्रति असन्तुष्ट बनेका हुन्।
यादवका अनुसार उनी लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए र पार्टी निर्माण तथा संगठन विस्तारमा उल्लेखनीय योगदान दिएको दाबी गरेका छन्।
तर टिकट वितरणका क्रममा आफ्नो योगदानको कुनै मूल्यांकन नगरी बाहिरबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै उनी असन्तुष्ट बनेका हुन्।
उनले भने, पार्टीमा लामो समय लगानी गरेका नेता–कार्यकर्तालाई बेवास्ता गर्दै बाहिरबाट आएका अनिल कुमार झालाई टिकट दिइनु अन्यायपूर्ण निर्णय हो। यही कारण आफू पार्टीभित्र बसिरहन नसकेको उनले बताएका छन्।
टिकट वितरण प्रक्रियाप्रति रोष व्यक्त गर्दै यादवले आज औपचारिक रूपमा नेपाली कांग्रेस परित्यागको घोषणा गरेका हुन्। उनको पार्टी परित्यागसँगै कांग्रेसभित्र आन्तरिक असन्तोष अझ सतहमा आएको विश्लेषण गरिएको छ।
यस विषयमा पार्टी नेतृत्वबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी छ।






