सप्तरी, माघ १३ । अघिल्लो निर्वाचनको तुलनामा राजविराज स्थित सप्तरी कारागारमा मतदाताको संख्या तीन गुणा बढी हुने देखिएको छ ।
निर्वाचन कार्यालयले सुरु गरेको मतदाताको लगत संकलनका क्रममा यस्तो अवस्था देखिएको हो । २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए । यसपल्ट तथ्यांक संकलनका क्रममा उक्त संख्या बढेर १६० पुगेको जेलर गंगालाल योगीले बताए ।
उनले संकलित विवरणबारे जिल्ला निर्वाचन कार्यालयका कर्मचारीले अध्ययन गरी अन्तिम नामावली तयारपार्ने सुनाए ।
कारागारमा हाल क र ख गरी दुई ब्लकमा कुल ३ सय ७६ कैदी बन्दी छन् । जसमध्ये ७ जना भारतीय नागरिक छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले कारागारबाट प्राप्त विवरण तथा मतदाता सुचीको अध्ययन कार्य भईरहेको भन्दै केही दिन भित्रै यकिन संख्या बताउने जानकारी दिए ।
उनले मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने जानकारी समेत दिए ।






