अध्यक्ष यादवद्वारा नयाँ कमला पुलका लागि एक करोड सहयोगको घोषणा



सिरहा, मंसिर २१ । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले कानूनी प्रक्रियाले मिल्ने भए नयाँ कमला पुल निर्माणमा पालिकाको तर्फबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार आयोजित नयाँ कमला पुल निर्माण महाअभियान कार्यक्रमका क्रममा अध्यक्ष यादवले पुलले सिरहा–धनुषा मात्र नभई पुरै मधेशलाई नयाँ र मजबुत सुत्रमा जोड्ने बताए। उनले भने, “कमला नदीमा सुरक्षित पुल बनेपछि मधेशको जनजीवनमा नयाँ ऊर्जा थपिनेछ।”

अध्यक्ष यादवका अनुसार पुलको पुनर्निर्माणपछि मधेशमा उत्पादन हुने बस्तुको व्यापार, शिक्षा, स्वास्थ्य र आवत–जावतका सबै सेवामा सहजता आउनेछ। विशेषगरी विपन्न र गरिब वर्गलाई पुलले सबैभन्दा बढी लाभ दिने उनको दाबी छ।

उनले थपे, “कानूनी अडचन नआए नयाँ कमलापुल निर्माणका लागि पालिकाबाट एक करोड रकम उपलब्ध गराउने छु। निर्माणसँग सम्बन्धित थप गतिविधिमा पनि सक्रिय रहनेछु।”

कमला नदीमा रहेको पुल विगतमा उद्घाटन हुनु अगावै भासिएको थियो। त्यसयता करिब १४ वर्ष बितिसक्दा पनि पुल पुनर्निर्माण हुन सकेको छैन। यसकारण स्थानीयवासीहरूले सडक यातायात र व्यापारमा कठिनाइ भोगिरहेका थिए।

कार्यक्रममा स्थानीयवासी, शिक्षक, व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिहरू उपस्थित थिए। अध्यक्ष यादवले सबै सरोकारवालासँग समन्वय गरेर पुलको शीघ्र निर्माण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ कमलापुल निर्माण सम्पन्न भएपछि सिरहा–धनुषा जोडिने प्रमुख मार्गमा आवागमन सहज हुने मात्र नभई क्षेत्रीय विकास र आर्थिक गतिविधिमा समेत ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको