तनहुँ, पुस १३ । तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्गमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामलाई औपचारिक रूपमा ‘प्लास्टिकमुक्त क्षेत्र’ घोषणा गरिएको छ। पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल (वेणी) रहेको देवघाटको धार्मिक गरिमा र वातावरणीय स्वच्छता संरक्षणका लागि देवघाट क्षेत्र विकास समितिको पहलमा यो अभियान सुरु गरिएको हो।
शुक्रबार देवघाटमा आयोजित विशेष कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले देवघाटधामलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले देवघाटको आध्यात्मिक महत्व जोगाउन यो निर्णय महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो।
“देवघाट करोडौँ श्रद्धालुहरूको आस्थाको केन्द्र हो,” प्रमुख दाहालले भन्नुभयो, “पवित्र नदी र तपोभूमिलाई प्रदूषणबाट जोगाउनु हामी सबैको साझा जिम्मेवारी हो। यस अभियान सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट र स्रोतसाधन उपलब्ध गराउनेछ।”
सोही कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्लास्टिक निषेधसँगै यसको वैज्ञानिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। देवघाटलाई केवल प्लास्टिक निषेधित क्षेत्र मात्र नभई पूर्ण रूपमा स्वच्छ र दुर्गन्धरहित क्षेत्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
“स्थानीय सरकारले आवश्यक कानुन निर्माण गरेर यो अभियान कार्यान्वयनमा लैजानुपर्छ,” उहाँले भन्नुभयो, “देवघाटको पवित्रता जोगाउन गाउँपालिका सबै किसिमको सहयोग र समन्वय गर्न तयार छ।”
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले तीर्थस्थलको आध्यात्मिक मूल्य संरक्षणका लागि प्लास्टिक प्रयोगमा कडाइ गरिएको जानकारी दिनुभयो। समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार अब देवघाट क्षेत्रभित्र एक पटक प्रयोग हुने प्लास्टिकका झोला, पातला बोतल तथा प्लास्टिकका भाँडाहरू पूर्ण रूपमा निषेध गरिनेछ।
यस अभियानलाई सफल बनाउन चितवन, तनहुँ र नवलपुरका स्थानीय तहहरू, सहमति संस्था तथा अन्य १३ वटा विभिन्न संघ–संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्। देवघाटधामलाई स्वच्छ, सुन्दर र पर्यावरणमैत्री धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।






