काठमाडौं, भदौ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र ह्वीप उल्लंघन गर्दै बागमती प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै आफ्ना तीन जना प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागेको छ।
राप्रपाको अनुशासन समितिले प्रदेश सांसदहरू मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्यलाई ७२ घण्टाभित्र जवाफ दिनुपर्ने गरी स्पष्टीकरण सोधेको हो।
राप्रपाले बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो। तर पार्टीको निर्देशनविपरीत तीन सांसद सरकार गठनको पक्षमा उभिएर मतदान गरेको राप्रपाको ठहर छ।
यसअघि बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि पनि पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै राप्रपाले कारबाही गरिसकेको छ। थापाले पार्टीको आधिकारिक निर्णयविपरीत निजी लेटरप्याड प्रयोग गरेर नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए।
भदौ १४ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गर्नुका साथै पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरेको थियो।
यसैबीच, सरकार गठनको पक्षमा तीन सांसद उभिएपछि पार्टीले त्यसलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिएको हो।
राप्रपा अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीले पठाएको स्पष्टीकरणपत्रमा पार्टीले प्रदेश सरकार गठन प्रक्रियामा सहभागी नहुन ह्वीप जारी गरेको अवस्थामा त्यसको उल्लंघन गरी सरकार गठनको पक्षमा मतदान गरेको भन्दै कारबाही नगर्नुपर्ने कारण माग गरिएको छ।
राप्रपाको विधान २०४८ ९संशोधनसहित २०७८० को दफा ३० ९ङ० बमोजिम उनीहरूलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न तथा पार्टीको साधारण सदस्यबाट समेत निलम्बन नगर्नुपर्ने कारण ७२ घण्टाभित्र पेश गर्न भनिएको छ।
यसअघि नै बागमती प्रदेशका प्रमुख सचेतक डम्बर तामाङले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिने पाँच जना सांसदलाई समेत स्पष्टीकरण सोधेका थिए। राप्रपाभित्र बागमती प्रदेश सरकार गठनको विषयलाई लिएर सांसदहरूबीच फरक–फरक धारणा देखिँदै आएको छ।






