माघ सांस्कृतिक महोत्सव : मौलिक भेषभूषासहित बजार परिक्रमा



दाङ, पुस १९ । थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको माघ सांस्कृतिक महोत्सवको उद्घाटनपूर्व मौलिक भेषभुषासहित घोराहीमा भव्य बजार परिक्रमा गरिएको छ ।

थारू समुदायका महिला तथा पुरुषहरू मौलिक भेषभूषामा सजिएर ढकिया, डेल्वा, माटोको गाग्री, भौकाभौकी, हलो–जुवालगायत पहिचान झल्काउने सामग्री बोकी बाजागाजासहित बजार परिक्रमामा सहभागी भएका थिए । परिक्रमाले थारू समुदायको जीवनशैली, कला र संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो ।



“आर्थिक जागरण व सांस्कृतिक रूपान्तरण हमार अभियान, सामाजिक न्यायसहितके समृद्धिम हमार योगदान” भन्ने मूल नारासाथ आयोजना हुन लागेको महोत्सवको प्रचार–प्रसारका लागि घोराहीका मुख्य बजार क्षेत्रमा थारू कला, संस्कृति र भेषभूषाको प्रदर्शनसहित बजार परिक्रमा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिए ।

बजार परिक्रमापछि सहभागीहरू महोत्सव स्थलमा पुगेर कार्यक्रमको औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ । घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण चौधरीले गर्नु हुने छ ।

महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङ्या, ढुम्रु गीतलगायत विविध सांस्कृतिक प्रस्तुतिहरू रहने छन् । साथै थारू समुदायका मौलिक परिकारहरू घोङ्घी, माछा, गङ्गटा, ढिक्री, अनडीको रोटी, अनडीको भात, अनडीको झोल, आलुको अचार, सिध्र माछालगायतको बिक्री तथा वितरणको व्यवस्था गरिएको छ ।

त्यसैगरी, थारू इतिहास, भाषा, साहित्य र संस्कृतिसँग सम्बन्धित पुस्तकहरूको प्रदर्शनी तथा बिक्रीसमेत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १९, शनिबार १७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको