राम अशिष यादव,
जनकपुरधाम, असार १२ । वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय युवाहरू र तिनको परिवारले अब खेतबारीमै भविष्य देख्न थालेका छन्। मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आयोजित पाँच दिने तरकारी खेती तालिमले उनीहरूमा आत्मनिर्भरता र स्वदेशमै रोजगारीको सम्भावना देखाएको छ।
असार ७ गतेदेखि ११ गतेसम्म वडा नम्बर ४ स्थित कोल्हुवाको वडा सभाहलमा सम्पन्न उक्त तालिममा २० जना सहभागिले नयाँ प्रविधि, उन्नत बीउ र व्यवसायिक उत्पादनका सीप सिकेका छन्।
यो तालिम गाउँपालिकाले रेमी ९पुनःएकीकरण० परियोजनाअन्तर्गत सञ्चालन गरेको हो। कार्यक्रममा ‘सिप, प्रविधि, ज्ञान र अनुभवको स्वदेशमै प्रयोग गरौं, फर्केका व्यक्तिलाई सम्मान र विप्रेषणलाई उत्पादनशील उपयोग गरौं’ भन्ने नारालाई मूल मर्म बनाइएको थियो।
गाउँपालिका अध्यक्ष जय कुमार यादवले समापन सत्रमा सहभागीहरूलाई मल्टी सिडकिट ९काउली, लौका, मुला, बोडी, पालुङो, रायो र धनिया० तथा प्रमाण–पत्र वितरण गर्दै भने, “हामीले विदेश फर्किएका युवाहरूलाई स्वदेशमै अड्याउने नीति लिएका छौं। विकासको आधार अब कृषिमा नवप्रवर्तन र युवाको योगदान हो।”
‘हामीजस्ता फर्किएका मानिसका लागि यस्तो तालिम साह्रै उपयोगी’
तालिममा सहभागी विनोद यादवले भने, “विदेश गएर हेरेँ, धेरै दुःख भयो। अब गाउँमै केही गर्छु भन्ने सोच थियो, तर कहाँबाट सुरु गर्ने थाहा थिएन। यो तालिमले बाटो देखाइदियो।”
उनका अनुसार मलजलको मात्रा, बिरुवाको दूरी, रोग–कीरा व्यवस्थापन र सिजन अनुसारको बीउ छनोट जस्ता कुराहरू व्यवहारिक रूपमा सिक्न पाउनु ठूलो उपलब्धि हो।
अन्तर्राष्ट्रिय सहकार्य, स्थानीय कार्यान्वयन
नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले तालिम सञ्चालन गरेको हो।
प्रमाण–पत्रमा लेखिएको थियो —
“नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताबमोजिम हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मुखियापट्टी मुसहरनिया गाउँपालिका द्वारा क्रियान्वयन गरिएको रेमी परियोजना अन्तर्गत मिति २०८२(०३(०७ देखि २०८२(०३(११ सम्म सञ्चालित ‘तरकारी खेती उन्नत प्रविधि तालिम’ मा सक्रिय सहभागिता जनाउनु भएकोमा धन्यवाद दिँदै यो प्रमाण–पत्र प्रदान गरिन्छ।”
साना प्रयास, ठूला परिणाम
समापन कार्यक्रममा वडा सचिव रामजी यादव, फोकल पर्सन सरिता साह, प्रशिक्षक राजेन्द्र यादव, लाल कुमार साह,सामाजिक परिचालक राम अशिष यादव तथा समाजसेवी शशिचन्द्र यादवको पनि उपस्थिति थियो।
अध्यक्ष यादवले भने, “यो केवल तालिम होइन, स्वदेशमै सम्भावनाको बीउ छर्ने अभियान हो।” अब पालिकाले रोजगारीको खोजीभन्दा पनि स्वरोजगार सिर्जना तर्फ डोर्याउने दीर्घकालीन रणनीति तय गरेको छ।
स्थानीय तहका यस्ता पहलहरूले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनःएकीकरण मात्र होइन, गाउँको आर्थिक स्वरूप बदल्न सक्ने सम्भावना राख्छन्।
“हामीले जानेको कुरा खेतमा हालौं, विदेशको सिको गाउँमा गरौं,” एक सहभागीले तालिमपछि भने।
शायद अब यो गाउँले बिस्तारै भन्न थाल्नेछ — ‘अब विदेश होइन, खेत नै भविष्य हो।’







